‘को’रोना भा’इरस दिमागसम्म पुगेर यसरि आ’क्रमण गर्न सक्छ’

0
88

कोरोना भाइरसले विशेषगरी फोक्सो, मिर्गौला, कलेजो र रक्तनलीहरूमा आक्रमण गर्नेबारे हामीले थाहा पाइसक्यौं। तर कोभिड-१९ का धेरै बिरामीले टाउको दुखाइ, असमन्जस र विक्षिप्त अनुभव गरेका पनि पाइएको छ। र, बिरामीका यी लक्षण अध्ययन गर्दा कोरोना भाइरस मान्छेको दिमागसम्म पनि पुग्न सक्ने देखिएको छ। बुधबार प्रकाशित एक अध्ययनका अनुसार बिरामीले त्यस्तो अनुभव गर्नुका पछाडि कोरोना भाइरस दिमागसम्म पुगेको हुनुपर्छ। र, यो भाइरस दिमागलाई असर पार्ने गरी त्यहाँ भएका अक्सिजन कोषका छेउछाउ रहन्छ। त्यसो त यो अनुसन्धान प्रारम्भिक चरणमै छ। तर यसअघिका अध्ययनमा पत्ता नलागेका थुप्रै कुराहरूमा नयाँ बाटो देखाउनेगरी यसले प्रमाण जुटाउने काम गरेको छ। येल विश्वविद्यालयकी रोग प्रतिरोधी विशेषज्ञ अकिको इवासाकीको नेतृत्वमा खटिएको अध्ययन टोलीले तयार पारेको प्रतिवेदनअनुसार कोरोना भाइरस दिमागसम्मै पुग्न र विस्तार हुन सक्षम छ।

यद्यपि यो भाइरस दिमागमा कसरी पुग्छ र यसले कसरी त्यहाँका कोष तथा तन्तुमा असर पार्छ भन्ने अझै स्पष्ट भइसकेको छैन। ‘यदि कोरोना भाइरस दिमागमा पुग्छ भने यसले खतरनाक असर देखाउन सक्छ,’ इवासाकीले भनेकी छन्। सानफ्रान्सिस्कोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका स्नायु विभाग प्रमुख डा. एस एन्ड्रयु जोसेफ्सनले यो अध्ययनमा प्रयोग गरिएका प्रविधिको खुलेर प्रशंसा गर्दै भनेका छन्, ‘कोरोनाका मामिलामा दिमाग प्रत्यक्ष रूपमा संलग्न छ कि छैन भनेर बुझ्नु अत्यन्तै महत्वपूर्ण छ।’ यो प्रतिवेदनको विज्ञहरूद्वारा आन्तरिक समीक्षा भएर निष्कर्ष ननिस्किउन्जेल यसमा आफूले पूरा भरोसा भने नगरिहाल्ने उनी बताउँछन्। कोरोना भाइरसले यदि दिमागमा रहेको ‘ब्लड ब्रेन ब्यारियर’ नास गर्ने क्षमता राख्छ भन्ने पत्ता लागेछ भने पनि अचम्म हुने छैन। किनकी ‘जाइका’ भाइरसले पनि संक्रमितमा यो खाले जोखिम पार्छ, विशेषगरी भ्रूणको दिमागमा यसले घातक असर गर्छ। ‘ब्लड ब्रेन ब्यारियर’ भनेको दिमागका रक्तनलीहरू घेरेर बसेको संरचना हो। यसको काम दिमागका रक्तनलीमा कुनै पनि बाह्य पदार्थ प्रवेश गर्न अवरोध गर्नु हो। तर, कोरोनाका बिरामीमा चिकित्सकहरूले अहिलेसम्म भाइरस दिमागमा पुगेर असर पारेको सोचेका थिएनन्। कोरोनाका आधाजस्तो बिरामीमा स्नायुजन्य प्रभाव देखिएको छ। यसबारे चिकित्सकहरूले केही अध्ययन गरेका थिए। उनीहरूले यो स्नायु प्रभावका पछाडि दिमागमा सोझै भाइरसको उपस्थिति हुन सक्ने कारण आकलन गरेका थिएनन्। बरू यसका पछाडि शरीरको रोग प्रतिरोधी प्रणाली सक्रिय हुने क्रममा कहिलेकाहीँ अति धेरै सक्रिय भएर हुने असामान्य प्रतिक्रिया कारण हुन सक्ने भन्ठानेका थिए। यस्तो प्रतिक्रियालाई ‘साइटोकिन स्टर्म’ भनिन्छ। इवासाकी र उनका सहकर्मीले नसुल्झेका यी प्रश्नको जवाफ खोज्न तीन फरक तरिका अपनाएका थिए। पहिलो, प्रयोगशालामै विकास गरिएका साना मस्तिष्कलाई संक्रमित बनाएर। यस्ता दिमागलाई ‘ब्रेन अर्गनोइड्स्’ भनिन्छ। दोस्रो, मुसालाई भाइरसबाट संक्रमित बनाएर। र तेस्रो, कोभिड-१९ का कारण मृत्यु भएका बिरामीको मस्तिष्कको तन्तु परीक्षण गरेर। प्रयोगशालामा विकसित मस्तिष्कमा गरिएको परीक्षणमा कोरोना भाइरसले न्युरोनहरूलाई संक्रमित गर्न सक्षम रहेको पाइयो। भाइरसले यसरी न्युरोन संक्रमित गरेपछि न्युरोनकै तन्तु प्रणाली ‘हाइज्याक’ गरेर त्यसकै आधारमा रहेर आफ्नो प्रतिलिपि तयार पार्नसम्म सकेको देखियो। अनि संक्रमित कोषले वरपरका कोषिकाको अक्सिजन उपलब्ध गराउने प्रणाली नै थुनिदिने पनि देखियो। यसरी संक्रमण भएका कोषले बिरामीमा अक्सिजन कम गराएर मृत्यु गराएको पाइयो। कोरोना भाइरसले खासगरी कोषमा रहेको ‘एसिई-टु’ भनिने प्रोटिनलाई संक्रमित बनाउँछ। यो प्रोटिन शरीरका अंगहरू, विशेषगरी फोक्सोमा प्रचुर मात्रामा उपलब्ध हुन्छ। त्यसैले पनि भाइरसले फोक्सोमा सबभन्दा बढी असर पार्छ। यसअघिका अध्ययनले दिमागमा एसिई-टु प्रोटिन एकदमै कम हुने देखाएका दिए। यही कारण भाइरसले दिमागमा असर नपार्ने सम्भावना धेरै हुने अनुमान थियो।

तर इवासाकी र उनको टोलीले यसबारे प्रस्ट्याउन प्रयोगशालामा बनाएका साना दिमागको अझै गहिरो अध्ययन गरे। अध्ययनबाट उनीहरूले दिमागमा पनि त्यस्तो प्रोटिन भएको फेला पारेका हुन्। यही प्रोटिनको बाटो हुँदै भाइरस दिमागसम्म पुग्न सक्ने उनीहरूको अनुमान छ। त्यसैगरी कोरोनाका कारण ज्यान गुमाएका बिरामीको दिमागका तन्तुमा पनि यो प्रोटिन धेरै मात्रा भेटिएको थियो। उनीहरूले टाउको दुख्ने, विक्षिप्तताबाट पीडित र अस्पतालमा उपचाररत कोरोनाका एक बिरामीको मेरुदण्डमार्फत् कम्मरको तल्लो भागमा तरल पदार्थ पठाएर पनि परीक्षण गरे। यसबाट पत्ता लाग्यो, ती व्यक्तिको मेरुदण्डमा भाइरसविरुद्ध लड्ने ‘एन्टी बडी’ काम नगर्ने भएको रहेछ। यसले पनि दिमागमा भाइरस पुग्छ भन्ने अध्ययनलाई थप सबुत जुटाउने काम गरिदिएको छ। त्यसपछि अध्येता टोलीले दुइटा फरक समूहका मुसामा पनि परीक्षण गरेको थियो। एउटा समूहको अनुवांशिक (जेनेटिक) परिवर्तन गरिएको थियो जस कारण त्यसको फोक्सोमा मात्र ‘एसिई-टु’ प्रोटिन लिने क्षमता भयो। अर्को समूहको भने दिमागमा मात्र त्यस्तो प्रोटिन लिने क्षमता दिइयो। अनि दुवैलाई कोरोना भाइरस संक्रमित बनाइयो। जुन मुसाको फोक्सोमा संक्रमण भयो, तिनीहरूको फोक्सोमा केही क्षति पुगेको देखियो। र, जुन मुसाको मस्तिष्कमा संक्रमण भयो, त्यसको तौल ह्वात्तै घट्यो र तुरुन्तै मर्‍यो पनि। यसरी गरिएको अध्ययनबाट दिमागमा भाइरस पुग्ने हो भने यसले अत्यन्त उच्च जोखिम निम्त्याउन सक्ने देखियो। अन्त्यमा उनीहरूले कोभिड- १९ कै कारण धेरै र जटिल समस्या भएर मृत्यु भएका तीन जना बिरामीको मस्तिष्क परीक्षण गरे। यसका लागि सबैमा अलग-अलग मात्रामा भाइरस उपस्थिति भएका शव छानियो। रोचक के भइदियो भने, ती शव जसमा कोरोनाका कारण शरीरका विभिन्न अंगमा असर र क्षति देखिएको थियो, ती अंगसम्म शरीरको रोग प्रतिरोधी कोष पसेर प्रभाव पारेको कुनै संकेत नै देखिएन। अर्थात्, जुन अंगमा संक्रमणको प्रभाव धेरै भएर क्षति भयो र त्यो नै मृत्युको कारण बन्यो, ती अंगसम्म रोग प्रतिरोधी कोषहरू पस्न र भाइरसविरूद्ध लड्न सकेनन्। जाइका वा हर्पिसजस्ता अरू केही भाइरस संक्रमणमा भने यस्ता प्रतिरोधी कोष हत्तपत्त संक्रमित कोषसम्म पुगेर तिनलाई मारिदिन्छन्। उदाहरणका लागि ‘टी सेल’ लाई लिन सकिन्छ, जसले जाइका वा हर्पिसजस्ता भाइरस संक्रमित भएका कोष मारिदिन्छ। तर अध्ययन गरिएका तीन कोरोना बिरामीका शवमा यो प्रक्रिया देखिएन।

यसअघि कोरोना बिरामीमा रोग प्रतिरोधी अत्यन्त धेरै प्रभावकारी र सक्रिय भएर फोक्सो बिगार्ने र त्यसैले स्नायु प्रणालीमा असर देखाउने अनुमान थियो। यो अध्ययनले भने यस्तो नहुन सक्ने संकेत देखाएको छ। धेरै जनाले नाकको माध्यमबाट पसेको भाइरसले नै मस्तिष्कसम्मको यात्रा तय गरिरहेको हुन सक्ने अनुमान पनि गरेका छन्। यो प्रतिवेदनका लेखकहरूले भने यसबारे थप अध्ययन गरेर मात्रै वास्तविकता पत्ता लगाउनुपर्ने औंल्याएका छन्। उनीहरूले यो भाइरसले मस्तिष्कमा कसरी प्रवेश गरेर संक्रमण गरिरहेको छ भन्ने पत्ता लगाउन अझ बढी शवको परीक्षण आवश्यक पर्ने पनि बताएका छन्। रोग प्रतिरोधी विशेषज्ञ अकिको इवासाकीका अनुसार यदि अध्ययनले देखाएजस्तै कोरोना भाइरसले दिमागमा संक्रमण गर्छ भने यसको असर बिरामीको श्वासप्रश्वासमा देखिएको समस्याभन्दा खतरनाक हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here